-आर. आर. चौलागाईं-
कसैको पनि सम्झनाभित्र नपरेपछि
हराइँदो रहेछ
जसरी हामी पनि हरायौँ ।
कहिले हामी पार्टीमा हरायौँ
कहिले परिवारमा हरायौँ
कहिले समाजमा हरायौँ
कहिले विभिन्न नतिजामा हरायौँ
कहिले यात्रामा हरायौँ
कहिले भोजभतेरमा हरायौँ
पटक पटक हरायौँ
थुप्रै पटक हरायौँ ।
गर्मीमा चीसो पानी पिउन मन लाग्थ्यो
हामी लाइनको अन्तिममा बस्थ्यौँ
आफ्नो पालो आउँदा
चीसो पानी तातो भइसकेको हुन्थ्यो
जाडोमा तातो पानी पिउन मन लाग्थ्यो
हामी लाइनको अन्तिममा बस्थ्यौँ
आफ्नो पालो आउँदा
तातो पानी चीसो भइसकेको हुन्थ्यो ।
पालो मिचेर बस्ने बानी नपरेको हुँदा
जहिले पनि हाम्रो हातमा
उध्रिएको र च्यातिएको लुगामात्रै
पर्ने गरेको छ
राम्रोसँग जाँच गर्ने बानी नपरेको हुँदा
जहिले पनि हाम्रो हातमा
म्याद सिद्धिएको कमसल सामानमात्रै
पर्ने गरेको छ ।
हाम्रो त नियति पनि यस्तै रहेछ
जहिले पनि हराउने
अनि जहिले पनि छुट्ने ।
(२०८३ वैशाख २१)
-बेइजिङ, चीन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्