-सुदीपभद्र खनाल-
उस्तै समस्या अवरोध उस्तै
सुस्तै छ चाला र विकास सुस्तै
उस्तै छ मान्छे र विचार चित्र
आँखा डुबे यी नयनाम्बु भित्र
उस्तै धुवाँ धूल पहाड पानी
रुँदै उडेको छ उता जवानी
निस्फिक्र यो किन्तु समाज मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
मर्ने मरेको छ मर्यै परन्तु
पर्वाह छैनन् सरि जीवजन्तु
संवेदना मूल सुकेछ मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
देखेर बाला अनि वृद्द माग्ने
गरीब झन् देश भएछ लाग्ने
बन्यो कि बिग्र्यो भन देश मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
साँढेहरूको छ विचित्र खेल
निर्धो बनी खप्दछ देश झेल
छन् शक्तिका बाढ अनेक मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
यो बुद्दको देश र बुद्दु धेरै
देखेपछी फाट्दछ चित्त साह्रै
यो देश मैदान बनेछ मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
परम्परा संस्कृति मासिएछन्
संस्कार वा पद्द्ति नासिएछन्
उडेछ हाम्रो पहिचान चित्र
आँखा डुबे यी नयनाम्बु भित्र
हिमालको भाल छ पैहृएको
पहाडको खाल छ लाछिएको
देख्दैछु यो देश छ त्रस्त मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
हामी थियौँ के र कहाँ हुनेछौँ
सम्हालिएनौ त भने रुनेछौँ
डुब्ला कि यो देश भनी पवित्र
आँखा डुबे यी नयनाम्बु भित्र
हाम्रो चिनारी अघिको दयावान्
गुणी विवेकी मनुजात्म विद्वान्
सबै सुकी आज गएछ मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
-केन्द्रीय उपाध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्