-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा कृयाशिल नेपालीभाषी समुदायको साझा संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयां कार्यसमिति चयनगर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
संस्थाका अध्यक्ष बसन्त लंम्सालको अध्यक्षतामा गत अप्रिल २७ तारिक सम्पन्न कार्यसमितिको पूर्ण बैठकले सर्वसम्मत तरिकाबाट तीन सदस्यहरुको नाम सिफारिस गरेको हो ।
डा. संगीता श्रोत्रियाको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा डा. आनन्द पौडेल र भुषणलाल श्रेष्ठ रहेका छन् । संस्थाको बिधान अनुसार आठौं कार्यकाल (2026-2028) को लागी कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गरिएको संस्थाका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।
निर्वाचन समितीलाइ निर्वाचनको कार्यतालिका, कार्यबिधी र प्रकिया निर्धारणगरी निर्वाचन प्रकृया आगामी जुन महिना भित्र सम्पन्न गरिसक्न अधिकार प्रदान गरिएको ढकालले बताएका छन् ।
नेपाली घरको हालै संशोधित विधान अनुसार संस्थामा साधारण, आजीवन , संस्थागत, मानार्थ र ननप्रफिट मेम्वर गरी ५ किसिमका सदस्य रहने ब्यवस्था गरिएको छ । विधान अनुसार संस्थामा १ हजार भन्दा धेरै डोर्नेसन दिनुहुने दाताहरूले चाहनु भएमा उहाँको श्रीमान श्रीमती दुवैजना स्वतः आजिवन सदस्य हुने व्यवस्था रहेको नेपाली घरका महासचिव भोला कटुवालले बताएकाछन् ।
संस्थाको सदस्य बन्न सधै सबैलाई ढोका खुल्ला रहेता पनि संस्थाको बिधान अनुसार निर्वाचन समिति गठन भइसकेको अवस्थामा अव बनेका सदस्यहरुले भने यस निर्वाचन प्रकृयामा आफ्नो मताधिकार प्रयोग गर्न नपाउने कटुवालले बताएका छन् । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल जुलाइ १ तारिक देखि शुरु हुने बताइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्