नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निजी निवास र व्यावसायिक कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको विषयप्रति आपत्ति जनाएका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विभागको उक्त कार्यले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा–५ स्थित निवास र उनको स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ का विभिन्न कार्यालयमा एकैसाथ छापा मारी केही कागजात नियन्त्रणमा लिएको थियो ।
राजनीतिक र व्यावसायिक जीवनको छानबिनलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले राज्यको निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने अवस्थामा ‘अकस्मात् छापामारी’ गरिएकोमा असन्तुष्टि पोखेका छन् ।
साथै उक्त घटनाको नेपाली काँग्रेस मकवानपुरले पनि राजनीतिक पूर्वाग्रह साध्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्