नेपाल । संघीय संसद् सचिवालयले संसद्का सदस्यको विद्युतीय हाजिरी प्रयोजनका लागि ‘बायोमेट्रिक’ विवरण लिन सुरु गरेको छ । सचिवालयले वैशाख २४ देखि २८ गतेसम्म सङ्घीय संसद्का सदस्यको ‘बायोमेट्रिक’ लिने छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आन्दोलनका क्रममा हाजिरी प्रणाली व्यवस्थित बनाउने प्रविधिसमेत नष्ट भएकाले सङ्घीय संसद्का सबै सदस्यको बायोमेट्रिक लिन लागेको जानकारी गराउनुभयो ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आगलागी भएपछि नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा क्षति पुगेको र सोही क्रममा संसद्का सदस्यको हाजिरी प्रणाली व्यवस्थित गर्ने प्रविधिसमेत नष्ट भएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बाट निर्वाचित सदस्यको ‘बायोमेट्रिक’ लिन बाँकी नै छ । प्रवक्ता गिरीले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सदस्यको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले संसद्को बैठकमा उपस्थितिको गणनालाई प्रविधिमैत्री बनाउन तथा सभा सञ्चालनको कार्य व्यवस्थित बनाउन ‘बायोमेट्रिक’ विवरण सङ्कलनले सहज बनाउने बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्