१६ बैशाख २०८३, बुधबार

राजनीतिक नेतृत्व र निजामती प्रशासन दुवैले इमानदारपूर्वक सेवा प्रदान गर्नुपर्छः मुख्यमन्त्री बानियाँ

कोलोराडोखबर संवाददाता , April 29th, 2026

नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नीति निर्माण गर्ने राजनीतिक नेतृत्व र त्यसलाई कार्यान्वयन गर्ने निजामती प्रशासन दुवै जनताप्रति पूर्ण जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएपी) अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामबारे हेटौँडामा मङ्गलबार आयोजित ‘नीति संवाद कार्यशाला’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले राजनीतिक नेतृत्व र निजामती प्रशासन दुवैले जनतालाई इमानदारपूर्वक सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय अवधारणा र संरचनाकै कारण विश्वका धेरै देशले विकासमा गति लिएको चर्चा गर्दै उहाँले नेपालमा पनि असल नेतृत्वले नयाँ मार्गदर्शन गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले नेपालमा बोली र व्यवहारमा एकरूपता नहुँदा समस्या देखिएको टिप्पणी गर्नुभयो । नेतृत्व र प्रशासनको कार्यशैली नमिल्दा विगत १५–२० वर्षमा ठुला राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सोचेअनुसारको सुधार हुन नसकेको उहाँको भनाइ थियो ।

राजनीतिक र प्रशासनिक नेतृत्व अख्तियारको फन्दामा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्रीले कतिपय अवस्थामा प्रतिशोधपूर्ण ढङ्गले हुर्मत लिने काम समेत भइरहेको बताउनुभयो । उहाँले प्रशासनिक संरचनालाई दबाब र प्रभावमुक्त तथा पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावनासँगै सुशासन कायम गर्नुपर्ने उहाँको भनाइ थियो । सङ्घीय सरकारले निजामती र प्रहरीसम्बन्धी कानुन समयमै निर्माण गरिदिए सङ्घीयता कार्यान्वयन सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्