नेपाल । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी कुमारी निर्वाचित हुनुभएको छ । सभाको दुई तिहाइ मतसहित रुवी उपसभामुखमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष नवनिर्वाचित उपसभामुख रुवीकुमारीले शुक्रबारै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
२६ वर्षीय उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले समेत उहाँलाई समर्थन गरेका थिए । निर्वाचित उपसभामुख रुवीले अब कार्यभार समाल्नुहुने छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत रहेकाले रुवीलाई निर्वाचित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको थियो । प्रतिनिधि सभाको तत्काल कायम सदस्य सङ्ख्या अनुसार उपसभामुखमा निर्वाचित हुन १३८ मत आवश्यक पर्छ । रुवीले २२९ मत पाउनुभएको हो ।
उपसभामुखका लागि दर्ता दुईमध्ये राप्रपा उम्मेदवार सरस्वती लामाको पहिलो प्रस्तावले बहुमत पाउन नसकेपछि रुवीको दोस्रो प्रस्तावमा मतदान भएको थियो । लामालाई निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । लामाको प्रस्तावमा कुल मतदानमा सहभागी २५७ सांसद रहेका थिए । जसमा प्रस्तावको पक्षमा छ मत र विपक्षमा २१५ परेको थियो । यस्तै तटस्थ मत ३७ रहेको थियो ।
तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत नपुगेपछि दोस्रो प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो । दोस्रो प्रस्तावका रूपमा रुवी कुमारीको पक्षमा २२९ मत परेको थियो । उक्त प्रस्तावको मतदानका क्रममा २५६ सदस्य उपस्थित थिए । रुवीको विपक्षमा छ र तटस्थ मत २२ परेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्