२६ चैत्र २०८२, बिहीबार

प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते हुने

कोलोराडोखबर संवाददाता , April 9th, 2026

नेपाल । प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते शुक्रबार हुने भएको छ । उपसभामुख चयन प्रक्रियाको कार्यतालिका सङ्घीय संसद् सचिवालयले बुधबार नै प्रकाशन गरेको छ ।

प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशित गर्नुभएको कार्यतालिका अनुसार उपसभामुख पदको मनोनयन चैत २६ गते हुने छ । एक मात्र मनोनयन दर्ता भएमा उपसभामुख चयन प्रक्रिया निर्विरोध हुने छ । एकभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन प्रक्रियाबाट उपसभामुख चयनको प्रक्रिया पूरा हुने छ ।

सभामुखमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल निर्वाचित भइसक्नुभएको छ । संवैधानिक व्यवस्था अनुसार अब रास्वपाबाहेकका अन्य दलबाट उपसभामुख चयन हुने छ ।

सभामुख पुरुष निर्वाचित भइसकेकाले उपसभामुखको उम्मेदवार अनिवार्य रूपमा महिला नै हुनुपर्ने छ । संविधानले सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्