२२ चैत्र २०८२, आईतवार

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन हुँदै

कोलोराडोखबर संवाददाता , April 5th, 2026

नेपाल । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम सुरु गर्न लागिएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो । आयोगको यही चैत १८ गते बसेको बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो ।

स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागिसमेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ ।

आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्