२० चैत्र २०८२, शुक्रबार

समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि तीन दिनसम्म विशेष उडान सञ्चालन गरिंदै

कोलोराडोखबर संवाददाता , April 3rd, 2026

नेपाल । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले शुक्रबारदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शुक्रबार काठमाडौं–दुबई, भोलि दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो ।

ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पु¥याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।

चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो । उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो । पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ ।

पश्चिम एसियामा विद्यमान तनावको अवस्थामासमेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ । उडानका दौरान आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्