नेपाल । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ ।
गत भदौ २३–२४ गते नवयुवा पुस्ता जेनजीले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।
उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भए भने आक्रोशित प्रदर्शनकारीले राज्यका महत्वपूर्ण संरचना, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सुरक्षा निकाय तथा सरकारी भवनहरू र व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड एवं लुटपाट गरी अर्बौंको क्षति पुर्याएका थिए।
उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो ।
कार्की आयोगले ओली र लेखकमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र दफा १८२ अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन सिफारिस गरेको छ । दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र १८२ हेलचेक्रयाइँ गरी ज्यान मार्न नहुने कसुर उल्लेख छ।
लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने प्रावधान छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्