९ चैत्र २०८२, सोमबार

सभापति गगन थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत

कोलोराडोखबर संवाददाता , March 23rd, 2026

नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिनुभएको राजीनामालाई आइतबार सम्पन्न बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपास्थित पार्टी मुख्यालयमा चैत ६ गतेदेखि सुरु भएको बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाकै नेतृत्व आवश्यक रहेको ठहर गरेको छ । प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रणबाहिरको परिस्थिति रहेको बैठकको निष्कर्ष छ । राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता र अन्योल बढ्ने भएकाले ‘कांग्रेस २.०’ अभियानलाई निरन्तरता दिन राजीनामा अस्वीकार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ । समीक्षाअनुसार आन्तरिक गुटबन्दी, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, पुराना शक्तिप्रति जनआक्रोश र डिजिटल माध्यममा नयाँ शक्तिहरूको प्रभावका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको ठहर गरिएको छ ।

अब पार्टीको सम्पूर्ण ध्यान १५ औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र साङ्गठनिक पुनर्संरचना गरिने कांग्रेसले जनाएको छ ।

यसैगरी, बैठकले मध्यपूर्वमा जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल सकुशल मुक्त गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

२०८२ भदौमा भएको ‘जेनजी’ प्रदर्शनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न पनि माग गरिएको छ । बैठकले पार्टीका विभिन्न तहमा रहेर योगदान पुर्‍याएका दिवङ्गत नेताको सम्मानमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्