२५ माघ २०८२, आईतवार

सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँगमात्रै छः सभापति थापा

कोलोराडोखबर संवाददाता , February 8th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँग भएको बताउनुभएको छ ।

कांग्रेसले काठमाडौँ क्षेत्र नं ५ मा आयोजना गरेको निर्वाचनसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र अब समुन्नति र स्थिरताको नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले दलीय भागबन्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमार्फत कांग्रेस बदलिएको बताउनुभयो । उहाँले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आग्रह गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मर्म र भावना अनुसारै कांग्रेस बदलिएको प्रस्ट पार्नुभयो । उहाँले अब देश बदल्ने अभियानमा कांग्रेस होमिएको बताउनुभयो ।

सभापति थापाले कांग्रेसलाई मतदान गर्ने २७ लाख नागरिकसँग संवाद र जेनजीले उठाएका मुद्दा सुन्नुपर्ने बताउनुभयो ।

यता, कांग्रेस सभापति थापाले पाँच वर्षमा समग्र विकासमा योजनाबद्ध काम गरेर मधेशसँगै देशका हरेक नागरिकको दैनिकीमा परिवर्तन ल्याउने उद्घोष गर्नुभएको छ । काठमाडौँमा बसोबास गर्ने सर्लाहीका नागरिकसँगको अन्तरसंवादमा उहाँले देश समाल्ने र देशभित्र देखिएको अविश्वासलाई विश्वासमा बदलेर राजनीतिक निकास दिने अठोट व्यक्त गर्नुभएको हो ।

उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि देशमा नयाँ अध्याय सुरु हुने र सबै पक्षसँग हालेमालो गरेर देशको समुन्नतिमा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्