२३ माघ २०८२, शुक्रबार

प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न हुन्छ, ढुक्क हुनुहोस्: प्रधानमन्त्री

कोलोराडोखबर संवाददाता , February 6th, 2026

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउनुभएको छ ।

निर्वाचनको मतपत्र छपाइ गरिरहेको भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेपछि बिहीबार प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइका लागि उत्साहजनक रूपमा काम गरिरहेको आफूले पाएको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

जनक शिक्षाका अनुसार बिहीबारसम्ममा प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।

छापिएका मतपत्रमध्ये डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनक शिक्षाले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य माघ १६ गते सुरु भएको थियो ।

यसअघि जनक शिक्षामार्फत १० लाख ९८ हजार नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको छ । त्यस्तै समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

मतपत्र छपाइको अवस्था बुझ्न प्रधानमन्त्री कार्कीसँगै जनक शिक्षा पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका लागि अहिलेसम्म सबै कुरा सकारात्मक रूपमै अघि बढेको बताउनुभयो ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्