१२ पुष २०८२, शनिबार

कविता: म एउटा समुन्द्र

कोलोराडोखबर संवाददाता , December 27th, 2025

-लालगोपाल सुवेदी-
म एउटा समुन्द्र हुँ आफैभित्र
हेरिरहेछु ‘ प्रतीत्य समुत्पाद ‘ चित्र
छालहरू आइरहन्छन्
छालहरू गइरहन्छन्
निष्काम कर्मभाव हो स्वयम्मा पवित्र
म हेरिरहेछु आँखा नझिम्क्याई निर्निमेष
आउने जाने पात्रहरूको चरित्र
वल्लो किनार छ यथावत
पल्लो किनार छ उस्तै दुरुस्तै
यो आकाशजस्तो मन
सघन अन्घकारमा पनि
किरणहरूको बैंसालु ज्वारमा पनि
अटल छ, अविचल छ
न त तिकडम न त छल छ
धर्ती मेरी माता
आकाश मेरा पिता
खोलाहरू , खहरेहरू आऊ मसम्म
भुइँकुहिरो भएर , बादल भएर
र कहिलेकाहीं चट्ट्याङ भएर गर्जिए पनि
म पानी हुँ
कीतपतङ्ग, वृक्ष वनस्पति र समस्त प्राणीहरूको
जीवनकहानी हुँ
म फूलहरूमा रङ्ग हुन्छु
सुम्सुम्यायौ भने मलाई ढंगले
तरङ्ग , तरङ्ग, विद्युत् तरङ्ग हुन्छु
म तिम्रै गीतको संगति हुँ
तिम्रै नसा नसामा बगिरहेको रक्तलहर
जीवन र गति हुँ
म तिम्रो कवितामा नअटाएको कविता
गायौ भने रुद्रकण्ठले
म सामवेद, म भागवत गीता
हल्ला, होहल्लाभन्दा पर पर नै भेटिन्छन्
मृतसंजीवनीसदृश अनेकन ऋचा, संहिता
पारिजात भएर उभिन्छ
पीपल भएर अक्सिजन दिन्छ
फर्काउँछ मर्न भनेर हिंडेकालाई
पटक पटक जीवनपथमा
यस धर्तीमा एउटा बोधीवृक्ष हुन्छ
वनमा पनि, मनमा पनि , यौवनमा पनि
आगलागी हुनुलाई भनिँदैन स्वतन्त्रता
म चाहन्छु जडताभन्दा परको
मोह र ईर्ष्याभन्दा झनै पर परको
अलि बेग्लै विमुक्ति, बेग्लै सवतन्त्रता
मुदिता हुँ म
कुनै घर खेत नखाएको, जीवन नभत्काएको
‘ओम् मणि पद्मे हुँ ‘ गाएको
एउटा त्यस्तो भविता हुँ
एउटा समुन्द्र हूँ समाधिस्त
एउटा कविता !!

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्