१४ पुष २०८२, सोमबार

लघुकथा: बन्धनमा मृत्यु

कोलोराडोखबर संवाददाता , December 27th, 2025

-आरसी रिजाल-
आदर्श मेरो अन्तरङ्ग लँगौटीया मित्र — उसका भोगाइ मबाहेक अन्त भन्दैनथ्यो। ४०बर्ष अगाडि सुनाएको पीडादायिक घटना आजसम्म मैले भुल्न सक्याछैन्। पीडा गुमस्याएर राख्न हुन्न भन्छन्। त्यसैले मन हलुँगो पार्दैछु -:

तिनभाइमा आदर्श जेठो। आमा मानसिक रोगी– कहिलेकाहीँ घरबाहिर निस्केर छिमेकीलाई गाली गर्ने–कहिले हराएर खोज्न जानपर्ने।एकजनाले छोड्नै नमिल्ने।उबेलाँ धामीझाँक्रीबाट उपचारका नाममा — कुचोले हिर्काउने,खोर्सानीको धुप सुँघाउने, पन्यौ तताएर डाम्नेसम्म गरेकै हुन् ।

आमालाई तिनभाइले एकएक रात पालो मिलाएर कुर्थे ।आदर्शको पालोको दिन बिहान चारबजे बिउँझेर आमालाई छाम्दा सिताङ्ग पायो। अनि करायो — लौ न आमा बोल्नु हुन्न, के भयो ? छिटोछिटो आओ……….।

आमाको मृत्युको केहि बर्षपछि प्रबचनमा — ” मातापिता जीउँदै छँदा सेवा नगर्ने पुत्रले मृत्युपछि गोकर्ण,मुक्तिनाथ त के गया पुगेर चढाएको पिण्ड पनि पितृले स्विकार्दैनन् ” भनेको सुनेर मसंग सल्लाह माग्न आथ्यो — मैले प्रवचनलाई नै समर्थन गर्देँ।

मेरो आमाको तिथिमा आदर्शको आमालाई पनि मैले सम्झने गर्‍याछु। कारण आदर्शले आमा कुर्ने पालोमा — आ कति नसुत्नु , सधैंको झ्याउलो, यस्तै हो भनि रोगी आमाको हातखुट्टा बाँधी आफू मस्त सुतेको रहेछ। कस्तो विडम्बना! त्यही रात तीनभाइकी आमाको बन्धनमा मृत्युु !

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्