५ पुष २०८२, शनिबार

कविता: पलाँसको फूल

कोलोराडोखबर संवाददाता , December 20th, 2025

-सुदीपभद्र खनाल-
म गाली सुन्न चाहन्छु मायाले गर्दिए हुँदी
जस्तो ओखरमा हुन्छ आँतमा गुनिलो गुदी
सत्य न्याय दया प्रेम-ले आत्म झल्मलाउँछ
प्रशंसा सुन्न चाहन्न झन्झन् भोक बढाउँछ

पिटेनी पिट आमाले पिटेझैँ सपृऊँ अझै
यसरी सपृऊँ धर्ती भर कोही नहुन् म झैँ
चिल्ला तारिफले मेरो बिग्रन्छ मन चिन्तन
तृष्णाका धारमा हाली सक्छ त्यस्ले डुबाउन

निरन्तर कुटे हुन्छ सुनारले सुवर्णझैँ
भरी पूर्णकला चम्कूँ ज्ञान विज्ञान पूर्णभै
ढुङ्गा मानी पिटे हुन्छ पिटेझैँ मूर्तिकारले
कर्म सौन्दर्यले चम्कूँ नघसूँ सह्रनी कसै

पछारे हुन्छ धोवीले पछारेझैँ निरन्तर
पारी हृत्तल यो मेरो सफा प्राञ्ज दिगम्बर
लिन्न पलाँसको फूल फोस्रो चाहिन्न तारिफ
हो जाली थपडी भन्दा हप्की स्नेहिल नै ठिक

हप्काए हुन्छ बाबाले सधाए सरि स्नेहले
फट्कारी गुरुले जस्तै भर्नू संस्कार ज्ञानले
चाप्लुसी म रुचाउन्न सुन्न सक्तिन चाकरी
खाएर सत्यको खस्रो सातु बन्छु अजम्बरी

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्