४ मंसिर २०८२, बिहीबार

ट्रलीबस सञ्चालनमा सहयोग गर्न एडीबीलाई आग्रह

कोलोराडोखबर संवाददाता , November 20th, 2025

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गर्नुभएको छ ।

एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुस्वालगायतको टोलीसँग दिगो सहरी विद्युतीय परियोजनाका विषयमा बुधबार जानकारी लिँदै मन्त्री घिसिङले यस्तो आग्रह गर्नुभएको हो ।

काठमाडौँको चक्रपथ, काठमाडौँ–धुलिखेल, पोखरा–मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायतका सडक विस्तार भइरहेको उहाँले बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “उक्त सडकका एक लेन ट्रलीबसका लागि प्रयोग गर्न सकिन्छ, उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि ट्रली जस्ता विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याउनु पर्छ, ट्रली सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहयोग गर्नुहोला ।”

चीन सरकारको सहयोगमा २०३३ सालमा काठमाडौँको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा आएको ट्रलीबस २०६६ सालदेखि पूर्ण रूपमा बन्द छ । पछिल्लो समय एडिबीको सहयोगमा काठमाडौँ उपत्यका, पोखरा महानगरपालिका र लुम्बिनी–बुटवल–सिद्धार्थनगर कोरिडोरमा सार्वजनिक यातायात सुधारका लागि विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिँदै दिगो सहरी विद्युतीय परियोजना सञ्चालन गर्न लागिएको छ ।

परियोजनामार्फत सार्वजनिक यातायातका लागि २५० वटा विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याइने छ । परियोजना अवधारणापत्र स्वीकृत भएर हाल परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ । नगर विकास कोष र पूर्वाधार विकास बैङ्कमार्फत परिचालन गरी सम्बन्धित स्थानीय तहमार्फत परियोजना कार्यान्वयन गरिनेछ । पोखरा महानगरपालिकामा परियोजना कार्यान्वयनका निम्ति गण्डकी प्रदेशमा सार्वजनिक यातायात प्राधिकरण स्थापनाको प्रस्ताव गरिएको छ । परियोजनाको अनुमानित लागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ५६ करोड रुपियाँ) रहेको छ । यसमध्ये १० करोड रुपियाँ एडिबीले सहुलितपूर्ण र चार करोड शून्य ब्याजदरको कर्जा रहेको छ । बाँकी रकम सरकारले बेहोर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्