२१ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि औपचारिक निम्तो

कोलोराडोखबर संवाददाता , August 18th, 2025

नेपाल । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि भारतीय सरकारको औपचारिक निम्तो हस्तान्तरण गर्नुभएको छ ।

आइतबार बिहान काठमाडौं आइपुग्नुभएका मिश्रीले आगमनलगत्तै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो दिनुभएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ प्रगाढ बनाउन सकिने विषयमा छलफल भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

विदेश सचिव मिश्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र पारस्परिक सम्बन्धबारे कुराकानी भएको बताइएको छ । त्यसैगरी उहाँले पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभयो ।

त्यस्तै, उहाँले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग सिंहदरबारमा भेट गर्दै दुई देशबीचको परराष्ट्र नीतिगत समन्वय, आपसी चासोका विषय र उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने विषयमा छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्