११ भाद्र २०८३, बिहीबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस इन्द्रबहादुर बानियाँ नियुक्त

कोलोराडोखबर संवाददाता , August 6th, 2025

नेपाल । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार दिउँसो उहाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

दुई ठुला दल कांग्रेस र नेकपा (एमाले) बिचको सत्ता गठबन्धन अनुसार कांग्रेस र एमालेका गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा बानियाँलाई मुख्यमन्त्री बनाउन सोमबार दिउँसो प्रदेश प्रमुख देवकोटासमक्ष दाबी पेस गरिएको थियो।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल कांग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् । मुख्यमन्त्री बानियाँको शपथग्रहण कार्यक्रम आजै दिउँसो ४ः२० बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि कांग्रेसबाटै मुख्यमन्त्री बन्नुभएका बहादुर सिंह लामा तामाङको राजीनामापछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो ।

यता, बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा मङ्गलबार दिउँसो आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले शपथसँगै एक जना बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ मन्त्रालय रहेको छ ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेसको दुई र नेकपा (एमाले) बाट ६ जना मन्त्री नियुक्ति गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिशमा मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन गर्नुभएको हो ।

नवगठित मन्त्रीपरिषद्मा कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्नुभएको छ । अधिकारीको मन्त्रालयपछि तोकिनेभएको छ । तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसबाट मन्त्री बन्नुभएका दुवै नयाँ हुनुहुन्छ । कांग्रेसको भागमा परेका अन्य मन्त्रालय मुख्यमन्त्री आफैले राख्नुभएको छ ।

यस्तै, एमालेबाट सरकारमा जानेमा एक जना बाहेक सबै नयाँ अनुहार हुनुहुन्छ । बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका किरण थापा नयाँ सरकारमा दोहरिनुभएको छ । थापाले पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सोहीअनुसार मधुसूदन पौडेलले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा। दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

मंगलबारनै कांग्रेसका दुई र एमालेका ६ जना मन्त्रीले शपथ लिनुभयो । नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुख देवकोटाले शपथ ग्रहण गराउनुभयो । कांग्रेसले मुख्यमन्त्री कार्यालयसहित आठ र एमालेले ६ मन्त्रालय पाएको छ ।

प्रदेशसभामा रहेका दुई ठुला दलबिच प्रदेशसभाको बाँकी अवधिमध्ये २०–२० महिना आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति यसअघि भएको थियो । यो सहमतिअनुसार कांग्रेसबाट बहादुरसिंह लामा तामाङ १२ महिनाभन्दा बढी मुख्यमन्त्री रहिसक्नुभएको छ । सहमति कार्यान्वयन भएमा बानियाँ आगामी चैतसम्म मुख्यमन्त्री रहनु हुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्