२३ असार २०८२, सोमबार

गिरिजाबाबु धेरै हिम्मत भएको र गणतन्त्र ल्याउने सच्चा नेता हुनः देउवा

कोलोराडोखबर संवाददाता , July 7th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन् ।

गत शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फाउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताए ।

उनले भने, ‘गिरिजा प्रसाद कोइराला लडाकु व्यक्ति हो । उहाँ नभएको भए वास्तवमा गणतन्त्र आउने नै थिएन त्यस्तो आटिलो व्यक्ति हो । त्यसबेला मान्छेले गणतन्त्र ल्याउन भनेर सोच्न नै सक्दैन् थिए । उहाँले अरु पार्टीसँग समन्वय गर्नु भयो । पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पास भएको थियो । गणतन्त्र ल्याउने श्रेय गिरिजा प्रसादलाई जान्छ । नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद नै हो ।’

उनले गणतान्त्रिक मुलुकमा समस्या आउनु सामान्य रहेको भन्दै समाधान गर्दै जाने र गणतन्त्र सुदृढ गर्न सुरुवात गरेको पनि बताए । उनले हिमाल बचाउनको लागि काम गर्नुपर्ने समेत बताए । उनले आफू र गिरिजाप्रसादबीच विवाद भएको प्रसंग निकाल्दै आफूले अर्को पार्टी नै बनाएको बताए । राजाले खोसेपछि मैले राजा र गिरिजा एउटै हुन भनेको पनि स्मरण गरे । उनले हास्दै भने, ‘एक जनाले प्रधानमन्त्रीबाट निकाले अर्काले पार्टीबाट निकाले ।’ यसलाई गलत रुपमा बुझ्न भन्दा पनि सम्बन्धमा उतार चढाव आए पनि लोकतन्त्रका लागि गिरिजाप्रसादको योगदान सधैं अतुलनीय रहेको उनले उल्लेख गरे ।

यस्तै, नेपाली काग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नकारात्मक कुरालाई मात्र लिएर अघि बढ्दा सबैकुरा हराउँदै जाने उल्लेख गर्दै विदेश पलायनलाई न्यूनीकरण गर्नुपर्ने औंल्याए ।

‘रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस नै चाँहिदैन, तर उचित कार्ययोजना चाहीं चाहिन्छ,’ उनले भने । सरकारसँग पैसा नभएर कृषकको लागि अनुदान नआएको उल्लेख गर्दै उनले नेपालमा उत्पादित कृषिजन्य वस्तु विदेश निर्यात गर्नुपर्नेमा जोड दिए । अहिले गाउँसम्म विकास र सडक पुगे पनि मानिसको माइग्रेसन (बसाईसराई) ले देशका मुख्य सहरहरुमा अत्यधिक चाप परेको पनि उनको भनाई थियो । यस विषयमा जय नेपाल फाउन्डेशनले काम गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सहमहामन्त्री डिना उपाध्यायले नेपाली कांग्रेसको मूल मुहानको रुपमा रहेका युवा विद्यार्थीहरु जो स्ववियुमा उठेर अबको नेपाली कांग्रेसका साथै देशलाई थाम्ने लक्ष्य लिएकालाई हौसला प्रदान गर्नका लागि यो कार्यक्रम गरेर फाउन्डेशनले राम्रो गरेको बताइन् । यो कार्यक्रमले हाम्रा युवा विद्यार्थीहरुलाई अझ सशक्त र मजबुत बनाउने र हाम्रा विचार र कार्यक्रमलाई प्रवाह गर्नका लागि भूमिका खेल्ने बताइन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गिरिजा प्रसादले बोलेको कुरा पूरा गर्ने गरेको बताउँदै उहाँबाट आफूहरुले त्यसबाट शिक्षा लिनु पर्नेमा जोड दिए । यसैगरी अहिले गलत भाष्य निर्माण भएको बताउँदै त्यसलाई चिर्नका लागि सकारात्मक सोचका साथ जय नेपाल फाउन्डेशनले गरेको कामको प्रंशसा व्यक्त गरे । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष नैनसिह महर, केन्द्रीय सदस्य आङगेलु शेर्पा , गोबिन्द भट्टराई, नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्ण, जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्रि अर्याल लगायतले कार्यक्रममा आफ्नो मन्तब्य राख्नु भएको थियो।

सो अवसरमा स्ववियुमा विजयी पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न पदक विजेता खेलाडीहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जय नेपाल इन्टरनेशनल फाउन्डेशनका संस्थापक सदस्य विश्व बरालले संस्था स्थापनाको उद्देश्य र यसले गरिरहेका कार्यहरूको बारेमा प्रकाश पार्नु भएको थियो।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले स्थापना भएको फाउन्डेसनको विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क’ू, महिलाहरूको ‘ग्लोबल वुमेन नेटवर्क’, सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क’, विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क’ मार्फत विभिन्न कार्यक्रम आयोजना गरिरहेको तथा अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेको छ । जय नेपाल इन्टरनेशनल फाउन्डेशनको अध्यक्षमा युवा बैज्ञानिक तथा नेपाल विद्यार्थी संघका महामन्त्री डा. यादव पण्डित रहेका छन्।

जय नेपाल इन्टरन्याशनल फाउन्डेशनका युवा तथा महिला संजालले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता बिनिता अधिकारीले गरेकी थिइन भने दीपा शिवाकोटीले संचालन संचालन गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्