१५ असार २०८२, आईतवार

नेपाली सांसद डा. तोशीमा कार्की र अमेरिकी सांसद जोनी ओल्सजेव्स्कीबीच भेटवार्ता

कोलोराडोखबर संवाददाता , June 29th, 2025

वासिङ्टन, डी.सी । नेपालको प्रतिनिधिसभाकी सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोशीमा कार्की र अमेरिकी प्रतिनिधिसभाका सांसद जोनी ओल्सजेव्स्कीबीच आज वासिङ्टन डी.सी. स्थित लङवर्थ हाउस अफिस बिल्डिङमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा डा. कार्कीले नेपालमा संघीय लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने दिशामा अमेरिकी सहयोगको अपेक्षा व्यक्त गर्दै, सांसद स्तरको अनुभव आदानप्रदान, युवा नेतृत्व विकास कार्यक्रम, तथा प्रवासी नेपाली समुदायको समन्वयमा आधारित परियोजनाहरूमा सहकार्यको प्रस्ताव राखिन् ।

साथै, जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरूमध्ये एक भएको नाताले, नेपालले विपद्‌ पूर्वतयारी, वातावरणमैत्री पूर्वाधार निर्माण, र दिगो विकासमा अमेरिकी साझेदारीको आवश्यकता रहेको उल्लेख गरिन् ।

सांसद जोनी ओल्सजेव्स्की, जो मेरिल्याण्ड राज्यको दोस्रो जिल्ला प्रतिनिधित्व गर्नुहुन्छ र पूर्व शिक्षक एवं काउन्टी कार्यकारी समेत रहनुभएको छ । नेपालसँगको सम्बन्ध विस्तारप्रति सकारात्मक धारणा व्यक्त गर्दै, साझा लोकतान्त्रिक मूल्य र जनमुखी शासन प्रणालीमा आधारित सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो।

यस कार्यक्रमको समन्वय मेरिल्याण्ड निवासी तथा प्रवासी नेपाली सम्पर्क समिति अमेरिका–प्रमुख रमेश भट्टद्वारा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्