नेपाल । काठमाडौँ प्रहरीले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेर शुक्रबार त्यसको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ।
उक्त प्रतिवेदनमा प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसमेत पेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको हो । शुक्रबारनै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले आइतवार दर्ता हुने सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ ।
पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।
उक्त प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्तिहरू आरोपी छन् ।
प्रतिक्रिया दिनुहोस्