१० जेष्ठ २०८२, शनिबार

रबि लामिछाने थुनामै रहने, बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

कोलोराडोखबर संवाददाता , May 24th, 2025

नेपाल । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार पठाउने उच्चको आदेश सदर गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत बुटवल इजलासले गरेको थुनामा पठाउने आदेश सदर गरेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।

आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानुनसम्मत भएकाले उल्ट्याउनु नपर्ने भनिएको छ ।

गत वैशाख ७ गते उनकी पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर उच्च अदालतको बुटवल इजलासले रविलाई थुनामा पठाएको थियो । त्यसविरुद्ध निकिता सर्वोच्च गुहार्न पुगेकी थिइन् ।

सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले रिट दर्ता गरेको थियो ।

सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्