नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।
सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८१ पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपूल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम बाग्लुङ, दिपेन्द्र श्रेष्ठ कास्की, लोग्शरी कुँवर कैलाली, दिपेन्द्र बान्तवा सङ्खुवासभा, डिल्लीराम खतिवडा उदयपुर र सागर पण्डित तनहुँलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्