नेपाल (हेटौंडा) । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघकै आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ ।
मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
रूम्बालाई आइतवार साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ ।
मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्