नेपाल । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि दुई जनाको मृत्यु भएको छ ।
ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो ।
यसअघि प्रदर्शनकारीहरुले मन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।
यसैबीच उच्च अदालत पाटनले शुक्रबारनै सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।
तर्कबहादुर पलसमेतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले शुक्रबार यस्तो आदेश दिएको हो ।
उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
यता, दुईजनाको मृत्यु हुने ललितपुरको बालकुमारीमा भएको प्रदर्शन र झडप प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्