३ कार्तिक २०८३, मंगलवार

कोलोराडोको राजनीतिमा नेपाली मूलका दिपक बस्नेत, आप्रवासीको आवाज नीति निर्माणसम्म पुर्‍याउने लक्ष्य

कोलोराडोखबर संवाददाता , October 20th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो राज्यमा नेपाली मूलका दिपक बस्नेत स्थानीय राजनीतिमा सक्रिय हुँदै इरी टाउन काउन्सिलको डिस्ट्रिक्ट-२ बाट उम्मेदवार बनेका छन् ।

युवालाई राजनीतिमा लाग्न प्रेरित गर्ने, आप्रवासी समुदायका हकहितलाई नीति निर्माणको तहसम्म पुर्‍याउने, कर्मभूमिमा नेपाल र नेपालीको पहिचान स्थापित गर्ने तथा आफू बसेको गाउँ, टोल र समाजको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको बस्नेतले बताएका छन् ।

नोभेम्बर ३, मा हुने निर्वाचनलाई लक्षित गर्दै बस्नेतले स्थानीय विकास, परिवार मैत्री समुदाय, सुरक्षित छिमेक र जवाफदेही नेतृत्वलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षा भन्दा पनि समुदायको नेतृत्व र सार्वजनिक सेवामा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको बताएका छन् ।

नेपालबाट हजारौँ माइल टाढा आएर अमेरिकामा बसोबास गरिरहेका नेपालीले मातृभूमि प्रतिको माया र सम्बन्धलाई कायम राख्दै आफू बसेको समाजको विकासमा पनि सक्रिय भूमिका खेल्नुपर्ने बस्नेतको धारणा छ ।

विदेशमा बसेर मातृभूमि लक्षित राजनीतिमा मात्र केन्द्रित हुँदा आफू बसोबास गरिरहेको स्थानीय समाजको नीति निर्माण र विकास प्रक्रियामा अपेक्षित योगदान दिन कठिन हुने निष्कर्षमा आफू धेरै अघि नै पुगेको उनले बताएका छन् ।

अमेरिकामा नेपाली समुदायको उपस्थिति बढ्दै गएको अवस्थामा यहाँको स्थानीय राजनीतिक प्रक्रिया बुझ्ने, सार्वजनिक निर्णयमा सहभागी हुने र निर्वाचित नेतृत्वमा आप्रवासीको प्रतिनिधित्व बढाउने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ।

बस्नेतका अनुसार राजनीतिमा प्रवेश गर्नुको उद्देश्य नेपाली युवालाई पनि सार्वजनिक सेवातर्फ आकर्षित गर्नु, आप्रवासीका समस्या र आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्‍याउनु तथा स्थानीय विकासका काममा समुदायको सहभागिता बढाउनु हो ।

बस्नेतले अरोरामा बसोबास गर्दा नेपाली समुदायका विभिन्न साथीहरूसँग मिलेर सामाजिक अभियानमा सहभागिता जनाएका थिए। त्यसबेला गंगा चौलागाई, डा. सुदीप प्याकुरेल, बासुदेव दाहाल, योगराज गौतम, राज ढुंगाना र ज्ञानेन्द्र गदाललगायतका साथीहरूसँग एकजुट भएर विभिन्न सामाजिक गतिविधि सञ्चालन गरेको उनले स्मरण गरेका छन् ।

समुदायको हितमा काम गर्ने क्रममा स्थानीय राजनीतिमा नेपाली समुदायको सहभागिताबारे पनि छलफल हुने गरेको उनले बताएका छन्। सामाजिक क्षेत्रमा सक्रिय रहँदा नै अमेरिकी राजनीतिक प्रणालीमा प्रवेश गरेर समुदायको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्‍याउन सकिने सम्भावनाबारे आफूले सोच्न थालेको उनको भनाइ छ।

त्यसपछि एक भारतीय मूलका अमेरिकी नागरिक अनवर अहमदसँग एक चुनावी कार्यक्रममा सहभागी हुने अवसरले आफूलाई थप प्रेरणा दिएको बस्नेतले बताएका छन्। उक्त कार्यक्रममा भारतीय मूलका अमेरिकीहरूको राजनीतिक सहभागिता र प्रभाव देखेपछि नेपाली समुदायले पनि स्थानीय राजनीतिमा आफ्नो उपस्थिति बढाउनुपर्ने आवश्यकता महसुस गरेको उनले उल्लेख गरेका छन्।

सन् १९९८ देखी यस भुमीमा रहेर संगटेको अनुभव र सोचलाई व्यवहारमा उतार्ने उद्देश्यले आफूले यसपटक इरी टाउन काउन्सिलको निर्वाचनमा उम्मेदवारी दिएको बस्नेतले बताएका छन् ।

अमेरिका विभिन्न देशबाट आएका आप्रवासीहरूको साझा कर्मभूमि हो। यहाँको स्थानीय विकास, सार्वजनिक सेवा र नीतिगत निर्णयमा आप्रवासी समुदायका आवश्यकता पनि सम्बोधन हुनुपर्ने बस्नेतको धारणा छ।

उनले नेपाली भाषी समुदायसँगै विभिन्न देशबाट आएका आप्रवासी र स्थानीय बासिन्दाबीच सहकार्य बढाउने लक्ष्य राखेका छन्। आप्रवासीका समस्या, उनीहरूको सामाजिक सहभागिता र स्थानीय विकासमा योगदानका विषयलाई सार्वजनिक बहस तथा नीति निर्माणको तहसम्म पुर्‍याउन आफूले भूमिका खेल्ने उनले बताएका छन्।

उनको उम्मेदवारी सम्बन्धी प्रचार सामग्रीमा इरीका बासिन्दासँग नियमित संवाद गर्ने, उनीहरूका वास्तविक समस्या सुन्ने, पार्क, विद्यालय र सुरक्षित छिमेकको विकासलाई प्राथमिकता दिने तथा दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गर्ने विषय समेटिएका छन्।

बस्नेतले आफू कामबाट अवकाश लिइसकेको व्यक्ति भएकाले निर्वाचित भएमा समुदायका लागि पर्याप्त समय दिन सक्ने बताएका छन्। आफ्नो मुख्य प्राथमिकता इरीका बासिन्दाको आवश्यकता बुझ्ने र नगरको विकासमा निरन्तर योगदान पुर्‍याउने रहेको उनको भनाइ छ।

बस्नेतका अनुसार इरी टाउन काउन्सिलको डिस्ट्रिक्ट–२ मा यसपटक तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उनका अनुसार यस क्षेत्रमा करिब १० हजार मतदाता रहेका छन् भने नेपाली भाषी मतदाताको संख्या करिब १ सय ५० को हाराहारीमा मात्र छ।

नेपाली भाषी मतदाताको संख्या तुलनात्मक रूपमा कम भए पनि समुदायको संगठित सहभागिता, स्थानीय बासिन्दासँगको संवाद र विभिन्न आप्रवासी समुदायसँगको सहकार्यलाई उनले महत्त्व दिएका छन्।

उनले आफ्नो उम्मेदवारी नेपाली समुदायका लागि मात्र नभई सबै स्थानीय बासिन्दा र आप्रवासी समुदायका साझा सरोकारलाई सम्बोधन गर्ने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्।

निर्वाचन नजिकिँदै गर्दा नेपाली भाषी समुदाय, विभिन्न देशबाट आएका आप्रवासी र स्थानीय बासिन्दालाई आफ्नो उम्मेदवारीबारे जानकारी दिन तथा स्थानीय विकासका लागि आफूलाई अवसर दिन बस्नेतले आग्रह गरेका छन्।

उनले नेपाली समुदायका सदस्यहरूलाई छिमेक, कार्यस्थल, व्यवसाय, सामाजिक जमघट र सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी फैल्याइ सहयोग गर्न अनुरोध गरेका छन्। यसैगरी कोलोराडोमा लामो समयदेखी बसोवास गर्दै आएका सामाजिक अभियान्ता डा. विजयराज शर्मा तथा नारायण श्रेष्ठले द्वयले कोलोराडोको राजनितिक इतिहासमा नेपाली भाषी समुदायका बस्नेतले धेरै ठुलो आँट र साहासको साथ कदम अगाडी बढाएकोमा धन्यवाद दिदै साथ र सहयोगको लागी सबैलाइ अनुरोध गरेका छन् ।

मेरील्याण्ड, न्यूयोर्क, भर्जिनिया, टेक्सास जस्ता state हरूमा नेपाली भाषीहरूले राजनितीमा ठुलो छलाङ मारि सकेको भएतापनि कोलोराडोमा भने नेपाली भाषीको पहिलो पदम हो ।

अमेरिकामा नेपाली समुदायका विभिन्न संघसंस्था सामाजिक, सांस्कृतिक र संस्थागत गतिविधिमा सक्रिय छन्। यस्ता संस्थामा हुने निर्वाचन, नेतृत्व चयन र सामूहिक निर्णय प्रक्रियाले समुदायका सदस्यलाई लोकतान्त्रिक अभ्यासमा सहभागी हुने अवसर प्रदान गर्छन्।

कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर लगायतका संस्थाले सामुदायिक गतिविधि मार्फत नेतृत्व विकास र सामूहिक सहभागिताका लागि आधार तयार गर्दै आएका छन्। सामाजिक संस्थामा नेतृत्व गर्ने अनुभवलाई स्थानीय सरकारको निर्वाचन, सार्वजनिक नीति र नागरिक सहभागितासँग जोड्न सकिएमा नेपाली समुदायको प्रतिनिधित्व विस्तार गर्न सहयोग पुग्न सक्छ।

पहिलो पुस्ताका धेरै नेपाली आप्रवासी अमेरिका आएपछि रोजगारी, व्यवसाय, परिवारको स्थायित्व र आर्थिक सुरक्षामा केन्द्रित भए। त्यस क्रममा स्थानीय राजनीतिमा सक्रिय हुन आवश्यक समय र अवसर सीमित हुन सक्थ्यो। अहिले भने नेपाली मूलका युवासहित विभिन्न पुस्ताका व्यक्तिले नागरिक अधिकार, सार्वजनिक सेवा, नीति निर्माण र स्थानीय निर्वाचनमा सहभागिता बारे चासो राख्न थालेका छन्।

यद्यपि राजनीतिक सहभागिता कुनै एक पुस्तामा मात्र सीमित विषय होइन। सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई स्थानीय राजनीतिक प्रक्रियासँग जोड्दै विभिन्न पुस्ताका नेपालीले नेतृत्व विकास गर्न सक्ने सम्भावना बस्नेतको उम्मेदवारीले पनि चर्चामा ल्याएको छ।

बस्नेतले आफू अवकाशपछिको जीवन बिताइरहेको उल्लेख गर्दै अबको समय समाजको विकास र सार्वजनिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको चुनावी प्रचार सामग्रीमा ‘कामबाट अवकाश, इरीको सेवाबाट होइन’ भन्ने सन्देशलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनले नगरवासीका कुरा सुन्ने, उनीहरूका सरोकार बुझ्ने र एरीलाई परिवार बस्न तथा बालबालिका हुर्काउन उपयुक्त स्थानका रूपमा विकास गर्न योगदान दिने प्रतिबद्धता जनाएका छन्।

बस्नेतको उम्मेदवारीले नेपाली मूलका व्यक्तिको अमेरिकी स्थानीय राजनीतिमा सहभागिता, आप्रवासी समुदायको प्रतिनिधित्व र सामुदायिक नेतृत्वलाई सार्वजनिक सेवासँग जोड्ने विषयलाई अगाडि ल्याएको छ।

नोभेम्बर ३ मा हुने निर्वाचनमा इरी टाउन काउन्सिल डिस्ट्रिक्ट–२ का मतदाताले आफ्नो प्रतिनिधि चयन गर्नेछन्। बस्नेतले भने आफ्नो उम्मेदवारी मार्फत स्थानीय विकासमा योगदान पुर्‍याउने, आप्रवासीका आवाजलाई निर्णय प्रक्रियामा समेट्ने र नेपाली समुदायलाई अमेरिकी मूलधारको राजनीतिमा थप सक्रिय बनाउने लक्ष्य अघि सारेका छन्।

उनको यस अभियान सबैले आ-आफ्नो क्षेत्रबाट साथ र सहयोग गरौं । कोलोराडोको राजनितीक इतिहासमा नेपालीभाषीको प्रतिनिधित्व सुनिश्चित गरौं । बस्नेतलाइ विजयको अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्