१ कार्तिक २०८३, आईतवार

लघुकथा: सत्यजल

कोलोराडोखबर संवाददाता , October 18th, 2026

-आरसी रिजाल-
रक्सीले विभिन्न उपनाम पाएको छ। जस्तै — मदिरा, खोया बिर्के,बिजुली सर्वत ,भित्री कोट आदि। तर रक्सी पिउनेलाई जड्याहा भनेको चैँ मलाई पटक्कै मनपर्दैन। कारण –उभन्दा त्यागी र राष्ट्र्वादी अरु हुनै सक्तैनन् ।। मै हुँ भन्ने नेताले तिहुन चखुवाझैँ पार्टी फेर्दै हिँडेको देखिन्छ। तर जड्याहाको दृष्टि भने अर्जुन दृष्टि भनेझैं रक्सिभन्दा दायाँबायाँ लाग्नै सक्तैन।

जड्याहाले आफ्नो परिवारको सुख शान्तिको त कुरै छाडौं, आफ्नो शरिरको समेत ख्याल राख्दैन। अब यस्तो मान्छेलाई त्यागी नभनेर के भन्ने ?

सरकारले रक्सीमा करवृद्धि गर्दै जान्छ। ” रक्सीमा करबृध्दि नगर ” भनेर ऎलेसम्म जड्याहाको सिस्टमण्डल अर्थमन्त्रीलाई भेट्ने गएको यहाँलाई थाहा छ ? यस्तो कर राष्ट्र निमार्णमा सदुपयोग हुन्छ भन्ने विश्वासमा बिरोध नगरेकाले जड्याहालाई खाँटी राष्ट्रवादी भन्नै पर्छ।

जड्याहाहरु लामो समयसम्म घरपरिवार र राष्ट्रको बोझ् हुन चाहँदैनन् र चाँडै संसारलाई त्याग्छ्न्। त्यसैले हाम्रो समाजमा वृद्ध जड्याहा न्यून मात्रामा फेला पर्छ।

यस्तै कालले टिप्न बिर्सिएको एक वृद्ध जड्याहालाई प्राय मन्दिर जाँदै गरेको देख्थेँ। एकदिन — ” तपाईं मन्दिर किन जानुहुन्छ ? भनेर सोधेँ । उनले — ” हेर्नुस् हामी “सत्यजल” पिउनेको थुतुनोले असत्य कदापि वकल्दैन। मेरा कयौं मित्र लिभरको खराबीले सिलटिम्बुर खाए। मेरो लिभरले पनि धर्म छाड्दै छ। चपाएर खाँदा पनि लिभर खराब हुन्छ भने बत्तीसदन्त किन चाहियो ? त्यसैले अर्को जन्ममा मानिसको दाँतको संख्या घटाएर लिभरको संख्या बढाउनु प्राथना गर्ने गर्‍याछु ” भने।

यिनको कुरा सुन्दा एउटा कुरा फुर्‍यो। त्यो के भने — प्रहरी कार्यलय वा अदालतमा अपराधीलाई बकाउनुभन्दा पहिले मज्जाले “सत्यजल” पियायो भने एकै तारिखमा फैसला सकिन्छ र न्याय क्षेत्रमा ठुलो सुधार हुन आउँछ।।।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्