२२ मंसिर २०८१, शनिबार

उदाउँदै गरेको सूर्यलाई अर्घ्य चढाएपछि छठ सम्पन्न

कोलोराडोखबर संवाददाता , November 8th, 2024

नेपाल । शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई ब्रतालुले जलाशयबाट अर्घ्य चढाएपछि महापर्व छठ सकिएको छ । बिहिवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ चढाएका हुन् ।

सूर्य देवको प्रतिक्षामा ब्रतालुहरु जलाशयमा प्रसादीसहित हात जोडेर लामो समय प्रतिक्षा गरेका थिए । सूर्य देखा परेसंगै प्रसाद चढाए । अब छठ घाटबाट घर पुगेपछि ब्रतालुले चढाएका प्रसाद सपरिवार ग्रहण गर्छन् ।

सूर्य देवता र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट बनाएको ठेकुवा चढाइन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई देवताको रुपमा विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

छठ ब्रत बसेपछि सन्तान प्राप्त हुने धार्मिक जनविश्वास पनि छ । सन्तान पाएकी महिलाहरुले घाटमा नाच नचाउने वा साष्टांग दण्डबत गरेर घरबाट घाटसम्म पुग्ने गरिएको छ ।

छठ पर्वले समाजलाई जोड्ने काम पनि गरेको छ । एउटै जलाशयमा हरेक समुदायका व्यक्ति विनाभेदभाव छठ मनाउँछन् । यसले समाजमा देखिएको शत्रुता, कटुता, वैरभावलाई अन्त्य गर्दै एक अर्कालाई नजिक ल्याउने काम गरेको छ । त्यसैले छठलाई सद्भावको पर्व पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्