-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो साधारण सदस्य पत्रकार रजेन्द्र केसी (र केसी) को क्यान्सर उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ।
मेटास्ट्याटिक मालिग्नेन्ट प्यानक्रियटिक क्यानसर( Metastatic Malignant pancreatic Cancer) बाट पिडित पत्रकार केसीको उपचारका लागि सक्दो सहयोग पुगोस् भन्ने हेतुले नेजाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।
अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरु आवद्ध संस्था नेजाले उक्त अभियानमा साथ दिन सबैसंग अपिल गरेको छ ।
पत्रकार केसीलाई संस्थाको तर्फबाट एकहजार अमेरिकी डलर सहयोग रकम प्रदान गर्दै नेजाले संस्था परिवार भित्र र संस्था बाहिरबाट पनि गोफन्डमीमार्फत थप आर्थिक सहयोग जुटाउन सार्वजनिक अपिल गरिएको हो । एक महिना अघि मात्र आफू क्यान्सरबाट पिडित भएको पत्तो पाएका पत्रकार केसी र उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेपछि केसी र उनको परिवारकै स्विकृतिमा नेजाले गोफन्डमीमार्फत आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेको हो ।
केसीले अहिले अस्पतालमै बसेर केमोथेरापी उपचार सेवा लिइरहेका छन् । छ वर्ष अघि नेपालबाट अमेरिका आएका केसी हाल श्रीमति र एक छोरीसहित अमेरिकाको केन्टकीमा बस्दै आएका छन् । केसी परिवारका अनुसार अचानक अप्रत्याशित रुपले आइलागेको स्वास्थ्य समस्याका कारण आर्थिक र मानसिक स्थिति निकै कम्जोर भएको र आम्दानीको श्रोतहरु पनि बन्द भएकाले स्वास्थ्य समस्यासंगै आर्थिक र मानसिक समस्याबाट पनि बिरामी र उनको परिवार गुज्रिरहनु परिरहेको छ ।
पचास हजार अमेरिकी डलर आर्थिक सहयोग जुटाउने लक्ष्यका साथ चालिएको गोफन्डमी अभियानमा हालसम्म दुइसय सात सहयोगीहरुले बाह्र हजार तीन सय उनान्नब्बे अमेरिकी डलर आर्थिक सहयोग गरिसकेका छन् । आर्थिक सहयोग जुट्ने क्रम जारी नै छ ।
नेजाले यस जटिल परिस्थितिबाट गुज्रिरहेका बिरामी केसी र उनको परिवारलाई हाल आर्थिक र मानसिक सहयोगको खाँचो भएकाले त्यसका लागि साथ दिन सबैसंग अपिल गर्दै केसीको सिघ्र पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
केसीलाई आर्थिक सहयोग गर्नका लागि उपलब्ध गराइएको गोफन्डमीको लिंक तल समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्