३ आश्विन २०८३, शनिबार

भैरव पुरस्कार हेटौँडा निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार आरसी रिजाललाई

कोलोराडोखबर संवाददाता , September 19th, 2026

नेपाल । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।

गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपाल प्रसाद बरालको अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।

२०८३ सालको भैरव पुरस्कार हेटौँडा निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ ।

त्यस्तै एक लाख एक हजार १११ रुपियाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिने गुठीले जनाएको छ ।

साथै ५१ हजार १११ रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार देवीप्रसाद चापागाईलाई प्रदान गरिनेछ । पुरस्कार यही असोज १८ गते आइतबार भैरव स्मृति भवनमा आयोजना गरिने जानकारी गुठीले दिएको छ ।

गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न साहित्यकार विमल अर्यालको संयोजकत्वमा गुठीका सचिव वसन्त रिजाल र साहित्यकार प्रल्हाद पोखरेल रहनु भएको चयन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्