नेपाल । सरकारले अमेरिकाको राजदूतमा चिरनजंग थापाको नाम सिफारिस गरेको छ । थापाले सुरक्षा नीति, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा दुई दशक लामो अनुभव सँगालेका छन् ।
अमेरिकाकै प्रतिष्ठित कोलम्बिया युनिभर्सिटीअन्तर्गतको ‘स्कूल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्स’ बाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर (एमए) गरेका छ न् । त्यसअघि उनले अमेरिकाकै ‘सुनी जेनेसियो’ बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक (बीए) उत्तीर्ण गरेका थिए। यसका अतिरिक्त उनी विश्वचर्चित हार्वर्ड केनेडी स्कूलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैर–सैनिक नेपाली हुन्।
सन् २०१७ देखि थापाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। यस भूमिकामा उनले एसियाका १५ देशहरूमा जोखिम तथा संकट व्यवस्थापनको नेतृत्व गरेका छन् ।
यसअघि उनले सन् २०१३ देखि २०१६ सम्म सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार र सन् २०१० देखि २०१३ सम्म द एसिया फाउन्डेसनमा ‘सुरक्षा क्षेत्र नागरिक–सैन्य सम्बन्ध सल्लाहकार’ का रूपमा काम गरिसकेका छन् । आफ्नो करियरको सुरुवाती चरणमा उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल र सिङ्गापुरका स्थायी नियोगहरूमा समेत रहेर कूटनीतिक कार्यसम्पादनको अनुभव हासिल गरेका थिए ।
थापाले नेपालको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई रणनीतिक परामर्श दिँदै आएका छन् । विशेषगरी उनले नेपाली सेनाका लागि पहिलो ‘नागरिक–सैन्य सम्बन्ध’ पाठ्यक्रम तयार पारेका थिए।
सुरक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनले दुई पटक ‘प्रधानसेनापति प्रशंसापत्र’ प्राप्त गरिसकेका छन् । दुई पटक यो प्रतिष्ठित सम्मान पाउने उनी पहिलो व्यक्ति हुन् । त्यस्तै, भारतीय सेनाद्वारा सन् २०२३ मा आयोजित पहिलो ‘चाणक्य डिफेन्स डाइलग’ मा उनलाई नेपालका तर्फबाट मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्