३० भाद्र २०८३, मंगलवार

डीभी पुनः खुल्ने, यसअघि रोकिएका निवेदन पनि भिसा प्रक्रियामा

कोलोराडोखबर संवाददाता , September 15th, 2026

अमेरिका । अमेरिकाले नेपालसहित ७५ देशलाई डाईभर्सिटी (डीभी) तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ ।

गत जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित ७५ वटा देशका नागरिकलाई ‘सरकारी सहायता (वेलफेयर) मा निर्भर हुन सक्ने’ सम्भावना देखाउँदै आप्रवासी र डीभी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो ।

उक्त रोक असंवैधानिक र कानुनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै अदालतले बदर गरिदिएको थियो । अदालतले विदेशमन्त्री मार्को रुबियोसँग यसरी एकमुस्ट आप्रवासी भिसा रोक्ने कानुनी अधिकार नभएको पनि आदेशमा उल्लेख गरेको छ ।

अदालतको पछिल्लो आदेशपछि विदेश मन्त्रालयले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २२१ (जी) अन्तर्गत अस्वीकृत भएका भिसा पहिचान गरी पुनः प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको जनाएको छ ।

यससँगै दूतावासहरुले डीभी प्रक्रिया र आप्रवासी भिसाको हकमा रोकिएका फाइलहरु पुनरावलोकन गर्ने, अदालतको आदेशअघि रोकिएका आवेदनको समीक्षा गर्ने, अपूग कागजात माग गर्ने, आवश्यकता अनुसार पुनः अन्तर्वार्ता लिने र अमेरिकी कानुनअनुसार योग्य ठहरिएका आवेदकलाई भिसा जारी गर्ने काम अघि बढाइसकेको विदेश मन्त्रालयले जनाएको छ ।

संघीय अदालतको आदेशपछि विदेश मन्त्रालयले आफ्नो मातहतका दूतावास महावाणिज्य दूतावासहरुमा भिसा जारी गर्ने निर्णय पत्राचार गरिसकेको जनाएको छ ।

अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष २०२६ समाप्त हुनुअघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिनसमेत निर्देशन दिएको छ । विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्ट २३ देखि सेप्टेम्बर ३० बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आव २०२६ का डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । (ईकान्तिपुरबाट)

प्रतिक्रिया दिनुहोस्