नेपाल । बज्जिका भाषामा नेपालमा लेखिएको पहिलो एकाङ्की सङ्ग्रहको भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको प्राचीन स्थल कोल्हुआमा लोकार्पण गरिएको छ ।
बज्जिका भाषाका चर्चित साहित्यकार सञ्जय साह मित्रद्वारा लिखित पाँच ओटा एकाङ्कीको सङ्ग्रह “पंचामृत”लाई बज्जिका भाषाका पाँच साहित्यकारले लोकार्पण गरेका हुन् ।
भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, पाठ्यपुस्तक, व्याकरणादि विभिन्न क्षेत्रका गरी मित्रका १९ कृति प्रकाशित छन् । रौतहटको गरुडा नगरपालिकाका साहित्यकार मित्रको २०औँ कृतिको रूपमा “पंचामृत” एकाङ्की सङग्रह प्रकाशित भएको हो ।
बज्जिका साहित्य सङ्गम रौतहटले प्रकाशित गरेको “पंचामृत” एकाङ्की सङ्ग्रहमा इतिहास, संस्कृति र पर्यावरणसित सम्बन्धित पाँच एकाङ्की रहेका छन् । नेपालमा बज्जिका भाषाको पहिलो एकाङ्कीको रूपमा “पंचामृत” प्रकाशन भएको हो । नेपालमा पहिलो बज्जिका साहित्यिक कृति पनि साहित्यकार मित्रकै “पच्चीस डेङ” विसं. २०६१ मा हेटौँडाबाट प्रकाशित भएको थियो ।
अमृत समान पाँच एकाङ्कीको सङ्कलन “पंचामृत”लाई वैशालीमा बज्जिका प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष इन्द्रजीत सहनी, अनलाइनमा बज्जिका साहित्य शृङ्खलाका सञ्चालक साहित्यकार सञ्जय महतो राज, शिवचन्द्र प्रसाद साह, रुपेश रोदन र कृतिकार मित्रले एकसाथ लोकार्पण गरेका हुन् ।
बज्जिका भाषाको जन्मस्थल मानिने वैशालीमा नेपालका कुनै कृतिकारको कृति लोकार्पण भएको यो पहिलो हो । बज्जिका भाषा र नेपालको मधेश प्रदेश र भारतको सीमावर्ती बिहार प्रान्तमा बोलिन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्