काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कटः आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक शनिबार बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “जलवायु परिवर्तसम्बन्धी समस्या समाधान गर्न सबैको एकमत छैन । पूँजीवादीको एकमत छ, मार्क्सवादीको अर्को मत छ । गरिब देशले यो समस्या सिर्जना गरेका होइनन्, यो तथ्य सबैले स्वीकार गर्नुपर्छ ।”
नेपालका प्रमुख राजनीतिक दलमध्ये नेकपा (माओवादी केन्द्र)ले नै जलवायु परिवर्तनका बारेमा बहस गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पार्टीको ८औँ महाधवेशनको दस्तावेजमा जलवायु परिवर्तनको सङ्कट, समाधानका प्रयासका बारेमा चर्चा गरेको जानकारी दिनुभयो ।
“कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईँहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी माओवादी केन्द्र र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ । हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्