३० भाद्र २०८१, आईतवार

नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

कोलोराडोखबर संवाददाता , November 19th, 2023

-नातिबाबु भट्ट/ कोलोराडो । नेपाल सम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनिबार एक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् ।

कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी र आयोजक संस्थाका पदाधिकारीहरु लयागतको उपस्थिती रहेको थियो ।

संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रस्तुत गरेका थिए । केही समय अगाडि नेपाली सांस्कृतिक केन्द्र भवनको प्रांगणमा ईन्दजात्रा सम्पन्न गरिएको थियो ।

राष्ट्रिय बिभुती तथा नेपाल सम्वतका प्रवर्तक संखधर शाख्वाको फोटोमा माल्यार्पण गरी उनको परिचय सम्बधी छोटो भिडियो प्रर्दशन गरी कार्यक्रमलाई अगाडि बढाईएको थियो ।

कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष टिका पौडेल, नेपाली घरका महासचिव भोला कटुवाल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका उपाध्यक्ष बिकास त्रिपाठी, समाजसेवी नवीन दत्त, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सीटौला, तमुपेलुका अध्यक्ष चक्र गुरुङ लगायतका अतिथीहरुले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले नेवाः संस्कृती र परंमपरा बिशाल रहेको र जसले नेपाललाई बिश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षको लागी सबैको उत्तिकै जिम्मेवारी रहेको बताएका थिए ।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाण पत्र प्रदान गरि सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा उपस्थित मिसेज एएनए २०२३ की दिक्षा श्रेष्ठ प्रधानलाई पनि प्रमाणपत्र प्रधानगरी सम्मान गरिएको थियो । कार्यक्रममा धिमे डान्स ग्रुपले बिभिन्न स्थानमा कुशल नृत्य प्रस्तुत गरेको भन्दै पुरस्कार प्रदान गरिएको थियो । सोही समारोहमा मीसा पुचा कमिटीका सदस्यहरुको परिचय गराईएको थियो ।

नेवाः खलः अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सबिता श्रेष्ठले संचालन गरेकी थिइ । कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष मनोजकाजी तुलाधरले उपस्थित सबैलाई धन्यबाद दिदै नेवारी संस्कृती जोगाईराख्न, तथा अमेरिकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी संस्कृती पहिचान गराउन हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गरिंदै आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्