नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ ।
पार्टी विदेश विभागको आयतबार बसेको नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रूस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो ।
दलका सम्मानित नेता तथा विभाग प्रमुख झलनाथ खनालका अध्यक्षतामा आज दलको कार्यालय, आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा विदेशका साम्यवादी दल, वामपन्थी दल तथा प्रगतिशील सङ्गठनहरूलाई निमन्त्रणा गरिनेबारे पनि छलफल भएको जनाइएको छ ।
त्यस्तै महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा विश्व परिस्थितिको समग्र विश्लेषण, नेपालको परराष्ट्र नीति र त्यसमा जलवायु परिवर्तन तथा वातावरण सुरक्षाका विषय जस्ता नयाँ आयाम पनि समावेश गरिनेबारे छलफल भएको विभागका सचिव डा. शङ्कर खतिवडाले जानकारी दिनुभयो ।
दलको अधिवेशन आगामी असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । यसैबीच पार्टी स्थायी कमिटी बैठक यही वैशाख २६, पोलिटब्यूरो बैठक यही बैशाख २७ र केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्