३० बैशाख २०८१, आईतवार

कोलोराडोमा वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , April 28th, 2024

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाद्वारा अमेरिकाको कोलोराडोमा वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।

अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले शुभकामना व्यक्त गर्दै वरिष्ठ साहित्यकार साकारका सिर्जनाबारे चर्चा गर्नु भएको थियो । त्यसैगरी अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माबाट साहित्यकार साकारको व्यक्तित्व र साहित्यिक जीवनबारे प्रकाश पार्नु भएको थियो ।

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) मा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, कवि तथा कथाकार साकारले आफ्ना एक दर्जन कविता वाचन गर्नु भएको थियो ।

त्यस्तै कवि साकारका रचनाहरु अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी, कोलोराडो शाखा अध्यक्ष राजु सिटौला, सचिव लालप्रसाद चौलागाईं, पूर्वअध्यक्ष कलाकार कृष्णमुरारी ढुंगेल, सल्लाहकारहरु वासुदेव खनाल र निर्मल प्याकुरेलले वाचन गरेर सुनाउनु भएको थियो ।

कवि साकारलाई कार्यक्रममा उपस्थित हुँदा अनेसासका कोलोराडो शाखा अध्यक्ष सिटौला र सदस्यहर रञ्जु आचार्य र निर्मला अर्यालले पुष्पगुच्छासहित स्वागत गर्नु भएको थियो ।

साहित्यकार साकारलाई अनेसास बोर्ड अफ ट्रष्टी पुरस्कार समितिका डा. विजयराज शर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा भाषासाहित्यप्रति रुची राख्ने व्यक्तित्वहरुको उल्लख्य उपस्थिति रहेको थियो ।

      

प्रतिक्रिया दिनुहोस्