२८ बैशाख २०८१, शुक्रबार

कविताः खुसी/बेखुसी

कोलोराडोखबर संवाददाता , April 27th, 2024

–आर.आर. चौलागाईं–

म बाहिर जाने कुरा गर्दा
कोही खुसी भए
कोही बेखुसी भए ।

खुसी हुनेहरूमध्ये कोही
अब ऊ गएपछि
उसको सट्टा
आफ्नो नाम आउँछ भनेर खुसी भए
खुसी हुनेहरूमध्ये कोही
अब ऊ उतै गएर
यताको भन्दा धेरै प्रगति गरोस् भनेर खुसी भए ।

बेखुसी हुनेहरूमध्ये कोही
अब ऊ उता गएपछि
धेरै उन्नति गर्ला कि भनेर बेखुसी भए
बेखुसी हुनेहरूमध्ये कोही
अब ऊ हामीलाई छोडेर
सदाको लागि जाने भो भनेर बेखुसी भए ।

खुसी हुनेहरूमध्ये कोही
अब ऊ उता गएपछि
शून्यमा बिलाएको हेर्नु परोस् भनेर खुसी भए
खुसी हुनेहरूमध्ये कोही
अब यता यसको
अपमान भएको देख्नु पर्दैन भनेर खुसी भए ।

बेखुसी हुनेहरूमध्ये कोही
ऊ गएपछि
अब यसको
खुट्टा तान्न नपाइने भो भनेर बेखुसी भए
बेखुसी हुनेहरूमध्ये कोही
अब यसको कविता
सुन्न नपाइने भो भनेर बेखुसी भए ।

–हेटौँडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्