२१ बैशाख २०८१, शुक्रबार

अमेरिकाको बोस्टनमा फहरायो नेपालको राष्ट्रिय झण्डा

कोलोराडोखबर संवाददाता , April 15th, 2024

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ।

गत अप्रिल १२ तारिख शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टर र समरभिल सिटीको संयुक्त आयोजनामा समरभिल सिटीको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो ।

नेपाली नयाँ वर्ष बिक्रम संवत् २०८१ साल प्रारम्भ भएको शुभसाइत पारेर आयोजना गरिएको कार्यक्रमकी प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास न्यू योर्ककी महावाणिज्य दूत विष्णुकुमारी अधिकारी र समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइनले संयुक्त रूपमा झण्डोत्तोलन गरेका थिए । कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाएर गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि अधिकारीले नेपाली नयाँ वर्ष २०८१ सालको शुभ अवसर पारेर ऐतिहासिक र महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको बताउदै समरभिल सिटी र एनआरएनए, म्यास्याच्युसेट्स च्याप्टरलाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरुले नेपाल र अन्य देशहरुका बीच सुसम्बन्ध स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।

प्रमुख अतिथि अधिकारीले ऐतिहासिक काम गरेकोमा एनआरएनए, म्यास्याच्युसेट्स च्याप्टर परिवारलाई बधाई ज्ञापन गर्दै समरभिल सिटीकी मेयर एवम् सिटी परिवारलाई कार्यक्रम सफल बनाउन साथ सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् । सम्बोधनका क्रममा उनले नेपली नयाँ वर्ष २०८१ सालको अवसरमा सबैलाई शुभकामनासमेत व्यक्त गरेकी थिइन् ।

यसैगरी, शुभकामना मनतव्य दिने क्रममा समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइनले नेपाली नयाँ वर्षको पावन अवसरमा नेपाली समुदायका सामु उपस्थित हुन पाँउदा गौरव महसुस गरिरहेको बताइन् । लामो समयदेखि नेपाली समुदाय समरभिल सिटीको अभिन्न अंग भएको र नेपाली समुदायको बढ्दो संख्याले समरभिल सिटीलाई सबल र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको जिकिर गर्दै मेयर बालेन्टाइनले नेपाली नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गरिन् ।

एनआरएनए, एनसिसि, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ शुभकामना मन्तव्य व्यक्त गर्दै ।

कार्यक्रममा, एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, एनआरएनए, न्यू हेम्पसायर च्याप्टरका अध्यक्ष कमल ढुंगाना, समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला सम्बन्धी कार्यालयकी निर्देशक मारिया टेरेसा, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अन्जु थापा, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्ग्ल्याण्डका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सुशील पौडेल, बोस्टनका लागि नेपाल पर्यटन प्रवर्धक मिलन गुरुङ, तमु समाज बोस्टनका अध्यक्ष रबिन गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, ब्लड डोनर्स अफ अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापा, एनडब्लुजिएनकी सल्लाहकार रुक्मिणी कार्की, अर्जुन पौडेललगायतले आयोजित कार्यक्रमको प्रशंसा गर्दै एनआरएनए र समरभिल सिटी परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

एनआरएनए,एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ शुभकामना तथा धन्यवाद मन्तव्य दिदै ।

मन्तव्यका क्रममा वक्ताहरुले नेपाली नयाँ साल २०८१ को शुभकामनासमेत व्यक्त गरेका थिए । यस अवसरमा सहभागीहरुले गर्व महसुस गर्दै आयोजकहरुलाई धन्यवाद दिनुकासाथै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला विभागमा कार्यरत आप्रवासी सेवा संयोजक परशुराम फुयालले सञ्चालन गरेको कार्यक्रममा, एनआरएनए, एनसिसि, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टरकी सचिव सलोनी भण्डारीले प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत् गरेकी थिइन् भने कार्यसमितिकी सदस्य नित्या शर्माले कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिएकी थिइन् ।

नेपाली समूदायको उल्लेखनीय बसोबास रहेको यस समरभिल सिटि कार्यालयसंग नेपाली समुदायको लामो समयदेखि संस्थागत सुसम्बन्ध कायम रहदै आएको छ। नेपाली समुदायले समरभिल सिटीको साथ, सहयोग र सहकार्यमा विविध सामुदायिक क्रियाकलापहरु सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्