२१ कार्तिक २०८३, शनिबार

लघुकथा: राष्ट्रिय रोग

कोलोराडोखबर संवाददाता , November 7th, 2026

-आरसी रिजाल-

डाक्टरलाई भेटेर एकजना बुढाले भने — देशको दुर्दशा सम्झेर निदाउनै मुस्किल पर्छ। के गर्ने होला डा.साब ?

डा. — चिन्ता मान्नु पर्दैन। तपाईंले विभिन्न तन्त्रदेखि जेन्जितन्त्रसम्म देख्नुभयो। तर आफुले चिताएको जस्तो देश देख्न नपाइ मरिएला भन्ने पिर परेको रहेछ। हैन त बुवा ? भने। बुढाले – मनको कुरा भन्नुभयो डा.साब। मलाई के भएको रहेछ ? भने।

डा — डिप्रेस्न।

बुढा — डिप्रेसन भनेको के हो ?

डा — राष्ट्रिय चिन्ता ।

बुढा — यो रोग त नेतालाई लाग्नु पर्ने होईन र ?

डा — हो,तर यो रोग गिदीमा लाग्छ लिदीमा लाग्दैन ।

बुढा – यो रोगको निदान हुँदैन त ?

डा — भ्रष्टका विरुद्ध गिदि भएकाहरु एकजुट हुनसके यो रोग निर्मुल हुन्छ।
बुढा — मैले औषधि सेवन गर्नु पर्दैन त ?

डाक्टरले — ( दुरासय नभएको झुटले अरुको हित हुन्छ भने झुट बोल्दा पाप लाग्दैन ठानेर ) प्रेकृप्सनमा भिटामिन लेख्दिदै — जबसम्म राष्ट्रिय समस्या समाधान हुँदैन तबसम्म तपाईंले सुत्नु अगाडि नियमित यो एक ट्यापलेट खाने गर्नुहोला ” भने।

बुढा— ए … ! मलाई त राष्ट्रिय रोग पो लागेछ भन्दै मुस्कुराएर निस्के।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्