-सुदीपभद्र खनाल-
हराएँ खलामा गरामा थलामा
वुभुक्षा पलाए सयौँ खोकिलामा
छ अन्तर्य भित्री हिमाली ढलामा
फसेँ तिर्सनाका परी नेल लामा
बसेँ हेर्न जादू भुलेँ चञ्चलामा
पला खेर फालेँ निदाएँ व्रिथामा
त्यही स्वर्ण भूका छटा छन् हियामा
सुखानन्द खोजी म भड्केँ धरामा
लगाएर आएँ म माला गलामा
छुट्यो आँत मेरो उतै कन्दरामा
अझै देख्छु नक्सा त्यही अर्गलामा
सरी शीत पानी बगेँ कर्कलामा
त्यहाँँ देश दुख्दा दुख्यो भित्र छाति
त्यहाँकै दशामा रुक्यो नीद राती
हराएँ उतैको गरी नित्य सुर्ता
तँ होस देश त्याग्ने भयो शव्द फिर्ता
कहाँँ त्याग्नु मैले स्वयं नीति फेरे
भिसा लाग्छ तेरो विदेशी तँ हो रे
स्वयंनै विगारे स्वयं साँध कोरे
पता हुन्छ के हूँ चिरी वक्ष हेरे
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्