-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपालमा हाल भइरहेको बाढी तथा विपद्का कारण प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै ब्लड डोनर्स अफ अमेरिका (BDA) Colorado ले विशेष Virtual Blood Drive सञ्चालन गरेको छ।
सेप्टेम्बर १ देखि २१ तारिखसम्म सञ्चालन हुने यस अभियानमार्फत अमेरिकाका विभिन्न स्थानमा रहेका नेपाली तथा अन्य इच्छुक रक्तदातालाई रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ।
नेपालमा विपद्को कठिन अवस्था रहेको बेला टाढा रहेर पनि मानवीय सेवामार्फत सहयोग गर्ने उद्देश्यले अभियान आयोजना गरिएको BDA Colorado का अध्यक्ष नवराज मरासेनीले बताएका छन्। उनका अनुसार रक्तदान केवल रगत दिने कार्य मात्र नभई पीडामा रहेका मानिसप्रतिको मानवीय संवेदना, सहकार्य र ऐक्यबद्धता व्यक्त गर्ने महत्वपूर्ण माध्यम हो।
कसरी सहभागी हुने?
यो Virtual Blood Drive भएकाले रक्तदाताले अभियानको लिंकमार्फत Vitalant मा आफ्नो नजिकको रक्तदान केन्द्र छनोट गरी उपलब्ध मिति र समयअनुसार अपोइन्टमेन्ट लिन सक्नेछन्। रक्तदान गर्दा BDA Colorado को Virtual Blood Drive लाई छनोट/सम्बन्धित अभियानअन्तर्गत दान गरेमा उक्त रक्तदान यस अभियानमा समावेश हुनेछ। ‘Donate Now’ बटनमा क्लिक गरी नजिकको Vitalant केन्द्रमा समय बुक गर्न सकिनेछ।
BDA Colorado ले समुदायका सदस्यहरूलाई आफ्नो अनुकूल स्थान र समयमा रक्तदान गरी अभियानमा जोडिन आग्रह गरेको छ। आयोजकका अनुसार, आफू जहाँ भए पनि, नजिकैको Vitalant केन्द्रमा रक्तदान गरेर नेपालका बाढीपीडितप्रति आफ्नो साथ र सद्भाव व्यक्त गर्न सकिनेछ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्