नेपाल । परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए ।
भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए ।
तर, सम्पर्कविहीन भएको ११ औँ दिनमा शनिबार उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताउनुभयो ।
बाढीबाट चण्डिकाका श्रीमान्, देउरानी, घरमा काम गर्ने एक व्यक्ति र एक जना नातेदार सोही घरबाट बेपत्ता भएको र उनीहरूको अहिलेसम्म केही अत्तोपत्तो छैन । शनिबार ६४ वर्षकी श्रेष्ठलाई बाढीको गेग्य्रानले पुरिन बाँकी रहेको क्षतिग्रस्त घरको चौथो तलाबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्