नेपाल । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको हो । महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ ।
प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुने छ । उहाँको सम्बोधनको खाका तयार गर्न प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयलगायत सबै मन्त्रालय क्रियाशील छन् ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीस्तरको भ्रमणमा उठाउनुपर्ने मुद्दाका बारेमा नेपालभित्र र नेपालबाहिर रहेका विज्ञ तथा वैज्ञानिकसँग केही चरणको छलफल गरिसकेको छ । त्यसका लागि सरकारले हालसम्मको मानवीय तथा भौतिक क्षतिको विश्लेषण गरिरहेको छ । त्यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय मिलेर क्षतिको आकलनका लागि तथ्य विश्लेषणसहितको प्रतिवेदन तयार गर्न गृहकार्य भइरहेको छ ।
परराष्ट्र मन्त्रालयले पनि भ्रमणको कार्यसूची बनाउने गृहकार्य थालेको छ । प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनालसमेत उच्चस्तरीय भ्रमणमा सहभागी हुनुहुने छ । सोही अनुसार नेपालमा उपलब्ध कूटनीतिक नियोगका प्रतिनिधिसँग नेपालले भोगिरहेको पीडा विश्वमञ्चमा उठाउनुपर्ने जलवायु न्यायको विषयमा दुई दिनअघि उहाँले बृहत् छलफल गर्नुभएको थियो ।
उता कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायुविज्ञ तथा वैज्ञानिकहरूसँग परामर्श गरेर प्रारम्भिक तयारी गरेको छ । बृहत् तयारी भने मन्त्री गीता चौधरी शनिबार स्वदेश फर्कनुभएपछि अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । भोटेकोशी हिमबाढीले धेरै जनधनको क्षति गरेपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रित छ । यस्तो समयमा विश्वमञ्चको बलियो आधारशीला मानिने राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले सहभागिता जनाउनुपर्ने सुझाव विज्ञसमूहले दिँदैआएको छ । यसअघि परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको महासभामा भाग लिने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।
यस वर्ष हुने ८१ औँ महासभा सेप्टेम्बर ८ मा भव्य उद्घाटनको तयारी सुरु भएको छ । सेप्टेम्बर ८ देखि सेप्टेम्बर २८ सम्म चल्ने महासभाको उद्घाटनसत्र र अन्य सत्रको तयारी तीव्र पारिएको महासभा आयोजक समितिले जनाएको छ । सेप्टेम्बर २२ देखि २६ सम्म साधारण बहस सञ्जालन हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्