१९ भाद्र २०८३, शुक्रबार

भदौ २२ गते राष्ट्रिय शोक मनाइने, भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा

कोलोराडोखबर संवाददाता , September 4th, 2026

नेपाल । सरकारले भोटेकोशी हिमबाढीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३ औँ पुण्यतिथिको दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झन्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन परिमाणको चिनी एक प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको छ । मन्त्रीपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्