६ भाद्र २०८३, शनिबार

रास्वपामा पदाधिकारी मनोनित, प्रवक्तामा खरेल, संगठन विभाग प्रमुखमा न्यौपाने

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

नेपाल । रास्वपाले केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा पार्टी सचिवालय सदस्य र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन गरेको छ । सो दलले नौ जना केन्द्रीय समिति सदस्य, छ जना पदाधिकारी, १३ जना सचिवालय सदस्य र केन्द्रीय विभागमा सात जना प्रमुख मनोनीत गरेको हो ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको शुव्रmबारको बैठकले केन्द्रीय समिति सदस्यमा सुनील लम्साल, भूपदेव शाह, बसुमाया तामाङ, सुधन गुरुङ, पुरुषोत्तम सुप्रभात यादव, सुरेन्द्र चौधरी, प्रतिभा रावल, डा. मनोहर प्रधान र भक्तबहादुर राईलाई मनोनयन गरेको छ । पूर्वसूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका ललितपुर–२ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य जगदीश खरेल रास्वपाको प्रवक्ता मनोनीत हुनुभएको छ ।

प्रतिनिधि सभाका सदस्य पुरुषोत्तम यादव सहमहामन्त्रीमा मनोनीत हुनुभएको छ । केन्द्रीय समितिको बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा डा। नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनीत गरेको छ ।

प्रमोद न्यौपाने सङ्गठन विभाग प्रमुख, शिशिर खनाल अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, विजय जैरू सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग, डा. तोसिमा कार्की जनस्वास्थ्य विभाग प्रमुख, निशा डाँगी पूर्वाधार विभाग र लिमा अधिकारी आचार्य अर्थ विभाग प्रमुखमा मनोनीत हुनुभएको छ । कमल सुवेदीलाई प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा गणेश पराजुली, पुरुषोत्तम सुप्रभात यादव, इन्दिरा रानामगर, मनीष झा, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, शिशिर खनाललाई मनोनयन गरेको छ ।

त्यसै गरी शिव नेपाली, लिमा अधिकारी आचार्य, मनोहर प्रधान, समीक्षा बाँस्कोटा, दीपकराज बोहरा, विराजभक्त श्रेष्ठसमेत सचिवालय सदस्यमा मनोनीत हुनुभएको हो । रास्वपा केन्द्रीय समितिको बैठकले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्