३१ श्रावण २०८३, आईतवार

नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सवको तयारी पुरा

कोलोराडोखबर संवाददाता , August 16th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरभित्र निर्माण गरिएको पवित्र शिवालयमा शिव, माता पार्वती, कार्तिकेय र श्रीगणेशका मूर्ति स्थापना गरि एक भब्य समारोह बिच प्राण प्रतिष्ठा गर्ने कार्यक्रमकका लागी सम्पूर्ण तयारी पुरा भएको हो ।

यही अगस्ट १६ तारिक आइतबारका दिन बिहान ९ बजेदेखी आयोजना हुने प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान गरि बाजागाजा, भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा कार्यक्रम गर्न सम्पूर्ण तयारी पुरा भएको नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन् ।

शिवालयमा नेपालको पवित्र कालीगण्डकी नदीको करिव १० फिट अग्लो र ८ फिट चौडा शिलालाइ दुइजना कालिगढले ३ महिना लगाएर हातले कुँदेर निर्माण गरिएको शिव परिवारको ३ सय किलो भन्दा बढी वजन भएको शुन्दर मुर्ति रहेको छ । नेपाली साँस्कृतिक केन्द्रलाइ सौजन्यस्वरूप उपलब्ध शिव परिवार , शिवलिङ्ग तथा बसाहको मूर्ति लक्ष्मी फुडका प्रोप्राइटर कृष्ण काफ्लेले उपलब्ध गराएका हुन् ।

काफ्लेले प्राणप्रतिष्ठा समारोहमा सहभागी भक्तजनका लागि आवश्यक प्रसाद तयार गर्न चाहिने सम्पूर्ण सामग्री समेत लक्ष्मी फुडले निःशुल्क उपलब्ध गराउने प्रतिज्ञा गरेका छन् । उनले प्रवासमा नेपालीभाषी समुदायको धार्मिक तथा सांस्कृतिक एकताको केन्द्रको रूपमा रहेको नेपाली सांस्कृतिक केन्द्रमा शिवालय स्थापना हुनु समुदायका लागि महत्वपूर्ण धार्मिक उपलब्धि भएको भनेका छन । यस्तो पुण्य कार्यमा सहभागी हुन पाउनु सवैका लागी गर्वकुरा भएको भन्दै नेपाली घरका उपाध्यक्ष काफ्लेले सबैलाइ सहभागि भइ सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

यसैबिच नेपाली घरले शुक्रवार एक प्रेश विज्ञप्ति जारी गर्दै यदी कसैलाइ आफ्नो घरमा रहेका भगवानका मूर्तिहरूलाई यस पावन प्राण–प्रतिष्ठा समारोहमा सहभागी गराउन चाहेमा अवसरको सदुपयोग गर्नुहुन कोलोराडो बासीमा हार्दिक अनुरोध गरेको छ । जसमा मूर्तिहरू आइतबार बिहान १० बजेसम्म नेपाली घरमा ल्याई दर्ता (Register) गरिसक्नुपर्ने, सहभागी गराइने मूर्तिको आकार १ फिटभन्दा सानो हुनुपर्ने, प्रत्येक मूर्तिका लागि 51 डलर शिवालय सहयोग राशि प्रदान गर्नुपर्ने र मूर्तिको पूजा तथा आवश्यक सामग्रीको व्यवस्था सम्बन्धित परिवारले आफै गर्नुपर्ने जनाएको छ ।

संस्थाले हाम्रो सनातन हिन्दू परम्परामा प्राण–प्रतिष्ठा केवल मूर्तिमा प्राण स्थापना गर्ने विधि मात्र नभई, श्रद्धा, संकल्प र भक्तिको माध्यमबाट ईश्वरसग अझ गहिरो रूपमा जोड्ने पावन धार्मिक संस्कार हो भनेको छ ।

नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले यो अवसरलाई नेपाली समुदायका लागि ऐतिहासिक तथा पुण्य अवसरका रूपमा लिन आग्रह गरेका छन् । उनले सम्पूर्ण भक्तजन, शुभेच्छुक तथा नेपाली समुदायका सदस्यहरूलाई सपरिवार उपस्थित भएर दर्शन, पूजा–आराधना, वैदिक अनुष्ठान तथा आरतीमा सहभागी भइ पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा गरेका छन्।

अध्यक्ष चौलागाईंले नेपाली घरमा शिवालय स्थापना र प्राण–प्रतिष्ठा पश्चात प्रवासमा रहेर नेपाली मौलिक धर्म, संस्कृति, परम्परा र आध्यात्मिक मूल्य–मान्यताको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण बिस्तारै बन्दैजाने अपेक्षा रहेको खुलाएका छन् ।

नेपाली घर परिवारले श्रद्धा र भक्तिभावका साथ एकत्रित भई यस पुण्य कार्यमा सहभागी बनौँ र भगवान शिवको आशीर्वाद प्राप्त गरौँ भन्दै कोलोराडोवासी सम्पूर्ण नेपाली समुदायलाई साथ र सहयोगको लागी अनुरोध गरेको छ ।

शनिबार अभ्युदयिम श्राद्द, मातृका पुजा गरेर विधिवत् शुरूगरिने प्राण–प्रतिष्ठा सोमबार रूद्राविषेक, हवन तथा आरती पश्चात समापन हुनेछ । आरध्यदेव भगवान शिव तथा उहाँका सम्पूर्ण परिवार श्रद्दालु भक्तहरूको प्रतिक्षामा रहनु भएको छ । सहभागी बनौं भजन कृतनका साथ रमौं, रमाऔं र भगवानसंग शुभ आर्शिवादको लागी प्रार्थना गरौं ।

प्रतिक्रिया दिनुहोस्