अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यमा आइतबार भएको तेस्रो अधिवेशनबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
१२ वर्षदेखि अधिवेशन हुन नसकेको समितिले लामो समयपछि नयाँ नेतृत्व पाएको हो । नेम्वाङ २६६ मत पाएर विजयी भए । नेम्वाङले आफ्ना निकटतम् प्रतिस्पर्धी सीपी पौड्याललाई १ सय २८ मतान्तरले पराजित गर्दै विजयी भएको प्रमुख निर्वाचन आयुक्त भक्त थापाले जानकारी दिए । नेम्वाङले २ सय ६६ र पौड्यालले १ सय ३८ मत प्राप्त गरेका थिए । सभापतिको प्रतिस्पर्धामा नेम्वाङ र पौड्यालसहित सन्तोष पहारी, ध्रुव गौतम, वेदप्रसाद खरेल र अमृत सापकोटा थिए ।
त्यस्तै समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट, उपसभापतिमा हरि पी शर्मा, निमा बोम्जन, सन्जीव श्रेष्ठ, श्रीराम थापा र सुशील खत्री निर्वाचित भएका छन् । समितिको महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल, सहमहामन्त्रीमा अर्जुन बम, अनिता परियार र नारायण पी पोखरेल निर्वाचित भएका छन् ।
यसैगरी केन्द्रीय सदस्यमा १६ जना निर्वाचित भएका छन् । खेमराज बास्तोला, हरि पी. खनाल, राजु पी.एस. रौनियार, देवराज ओली, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सीना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश दागी, नवराज न्यौपाने, रोशनकुमार ढुंगाना, नेत्र केसी र अनिल आर. पाण्डेय सदस्य निर्वाचित भएका हुन् ।
सन् २०१४ मा दोस्रो अधिवेशनबाट आनन्द विष्टको सभापति निर्वाचित भएका थिए । विष्टले गत फागुन १९ मा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएपछि सभापति पदबाट राजीनामा दिएका थिए । १२ वर्षसम्म नेतृत्वमा रहेका विष्टले राजीनामा दिएपछि अधिवेशनका लागि थप दबाब सिर्जना भएको थियो । केन्द्रीय समितिको निर्देशन तथा विधानबमोजिम लामो समयदेखि रोकिएको अधिवेशन कांग्रेस महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनमा आठ सय केन्द्रीय प्रतिनिधि चयन भएका थिए । जनसम्पर्क समिति अमेरिकामा ४ हजार सदस्य छन् ।
सन् २००६ मा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अमेरिकामा तदर्थ समितिका रूपमा स्थापना गरेको जनसम्पर्कमा सन् २०१४ पछि अधिवेशन हुन सकेको थिएन । सन् २००७–२००८ मा पहिलो अधिवेशनबाट अमेरिकामा कांग्रेसले जनसम्पर्कलाई संस्थागत रूप दिएको थियो । त्यसपछि सन् २०१४ को सेप्टेम्बरमा टेक्सस राज्यमा दोस्रो अधिवेशन भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्